८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने अदालत उपस्थित, सहकारी ठगी प्रकरणमा थप अनुसन्धान जारी

रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।



Rabi Lamichhane
  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ६४
  • पोखरा: कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

    कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको हिरासत म्याद सकिएकाले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।

    कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार लामिछानेबारे अनुसन्धान प्रतिवेदन तयार हुँदैछ र एक-दुई दिनभित्र जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइनेछ। लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

    सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको संसदीय छानबिन समितिको निष्कर्ष छ। सूर्यदर्शन सहकारीबाट मात्र ५ करोड ५८ लाख गोरखा मिडिया नेटवर्कमा लगिएको भेटिएको छ।

    यस प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीसहित पाँच जना कास्की प्रहरीको हिरासतमा रहेका छन्। उनीहरूमाथि ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। थप ३५ जनालाई फरार प्रतिवादी बनाउने तयारी प्रहरीको छ।

    लामिछानेले सूर्यदर्शन सहकारीका कुनै पनि पदमा नरहेको र बचत वा ऋण खाता नखोलेको दाबी गरेका छन्। उनले आफ्नो नाममा ऋण निकासा भएकोबारे अनभिज्ञता जनाएका छन्। ग्यालेक्सी फोरके टिभीमा काम गर्नुअघि १ करोड ८० लाखको सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोरखा मिडिया नेटवर्कमा आबद्ध भएको बताए।

    प्रहरीले प्रतिवेदन तयार गरिरहेको र ७ दिनभित्र सरकारी वकिल कार्यालयमा बुझाउने लक्ष्य राखेको छ। अब यो प्रकरण अदालतमा मुद्दा दायर भएपछि थप कानुनी प्रक्रिया अघि बढ्ने छ।