२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोरङमा सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, आफ्नै काका प्रहरी नियन्त्रणमा



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ६४
  • मोरङ, असार १५ - मोरङको धनपालथान गाउँपालिका–५ मा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य अपराधमा आफ्नै काका संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    शव शनिबार बिहान घरबाट करिब सय मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालय नजिकैको बाटो छेउमा फेला परेको थियो। पीडित बालिका आत्तिका सरदार आफ्ना हजुरआमासँग बस्दै आएकी थिइन्। घटना भएको बेलामा उनका बाबुआमा दुवै काम विशेषले बाहिर गएका थिए।

    आत्तिका हराएको खबर बिहानै फैलिएको थियो। खोजीका क्रममा विद्यालयछेउमा घाँटी बटारिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको र जबर्जस्ती बलात्कार भएको आशंका गरिएको छ।

    अनुसन्धानका क्रममा बालिकाका कान्छा काका अनिष सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले सोधपुछमा मदिरा सेवन गरेको स्वीकारे पनि अपराधमा संलग्नता अस्वीकार गर्दै आएका छन्। तर, प्रारम्भिक अनुसन्धानले उनलाई नै घटनामा संलग्न देखाएको छ।

    एक प्रहरी स्रोतका अनुसार, “अनिषले आफ्नी भतिजीलाई राति सुतिरहेका बेला बाहिर लगेर बलात्कार गरेका थिए। त्यसपछि घटना खुल्ने डरले हत्या गरेर शव फालेका हुन् भन्ने देखिन्छ।”

    घटनाको रात आत्तिकाका बाबु भारतको मनिहारीमा थिए भने आमा माइतीघर गएकी थिइन्। दुवैले सन्तानलाई आमाको जिम्मा लगाएर बाहिर जाने गरेका थिए। सोही दिन अनिषले आत्तिका र उनका भाइलाई लिएर छुट्टै घरमा सुताएका थिए।

    बिहान उठेपछि हजुरआमाले नातिनी नदेखेपछि हल्ला मच्चियो र गाउँमा बच्चा चोरीको हल्ला समेत फैलिएको थियो।

    मोरङ प्रहरीका अनुसार, हाल अनिष प्रहरी नियन्त्रणमा छन्। उनलाई हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइँदैछ।

    प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, "शारीरिक परीक्षण रिपोर्ट (पोस्टमार्टम) पछि थप प्रमाणहरू सार्वजनिक हुनेछन्। मेडिकल परीक्षणका आधारमा मुद्दा बलियो बनाइनेछ।"

    स्थानीय बासिन्दा अमृताकुमारी चौधरी भन्छिन्, “यस्तो क्रूर र अमानवीय घटना हाम्रो गाउँमा कहिल्यै भएको थिएन। पूरा गाउँ त्रासमा छ। दोषीलाई कडा सजाय हुनुपर्छ।”