३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युवाले जमिन छाडे, विदेश पलायन बढ्दै : महासचिव पोखरेलको चिन्ता



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १८०
  • काठमाडौं, साउन १५ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कृषि क्षेत्र संकटमा पर्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।

    राष्ट्रिय युवा संघ नेपालको एक महिनासम्म चल्ने रक्तदान अभियानको उद्घाटन समारोहमा बोल्दै उनले युवापुस्ताले कृषि कर्म त्याग्दा देशमा रोजगारीको अवसर खुम्चिएको र वैदेशिक पलायन तीव्र भएको बताएका हुन्।

    “पहाडका खेतबारी बाँझो छन्, युवाहरू रोजगारीको खोजीमा विदेश गइरहेका छन्,” पोखरेलले भने, “हामीले अब यो अवस्थालाई उल्ट्याउने संकल्प गर्नुपर्छ। जमिन छ, सम्भावना छ, तर युवाले देशभित्रै अवसर देख्न सकेका छैनन्।”

    महासचिव पोखरेलले नेपालको ७० प्रतिशत जनसंख्या अझै पनि कृषि क्षेत्रमै आश्रित रहेको उल्लेख गर्दै कृषि नै आर्थिक समृद्धिको आधार बन्न सक्ने धारणा राखे। उनले भने, “नेपाललाई समृद्ध बनाउने सपना साकार पार्न कृषि क्षेत्रको आधुनिकीकरण अनिवार्य छ। कृषिले मात्र उद्योग, पर्यटन, सेवा जस्ता क्षेत्रहरूलाई पनि गति दिन सक्छ।”

    उनले वर्तमान समाजमा कृषि कर्मलाई केवल निर्वाहमुखी पेसा मान्ने प्रवृत्ति रहेको र त्यसैले युवापुस्ता आकर्षित नहुने बताए। “अबको युवा आन्दोलनको साझा एजेन्डा नै ‘कृषिमा युवा’ हुनुपर्छ,” पोखरेलले जोड दिए।

    साथै, मधेस प्रदेशमा फैलिएको सुख्खाको सन्दर्भ उठाउँदै उनले सरकारले राहतका साथै दीर्घकालीन योजना अघि बढाएको जानकारी दिए। “मधेस सुख्खाग्रस्त अवस्थामा छ। सरकारले योजनाबद्ध ढंगले समाधानतर्फ कदम चालिरहेको छ,” उनले बताए।

    अन्त्यमा महासचिव पोखरेलले प्रविधिको विकास जति नै भए पनि जबसम्म खाद्यान्न उत्पादन सुनिश्चित हुँदैन, तबसम्म मानिसको जीवन सहज बन्न नसक्ने बताए। “अन्न नै जीवनको आधार हो, कृषिमा फर्किनु आजको आवश्यकता हो,” उनले भने।