काठमाडौँ, भदौ ३० – जेनजी आन्दोलनको क्रममा एनसेलको मुख्यालय लैनचौरमा भएको तोडफोड, आगजनी र चोरीको घटनाबारे कम्पनीले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा औपचारिक उजुरी दर्ता गरेको छ।
कम्पनीले दिएको विवरणअनुसार, भदौ २४ गतेको घटनामा प्रदर्शनकारी समूहले सुरक्षाकर्मीलाई धम्क्याएर एक कोठामा थुनेपछि कार्यालयका विभिन्न तला प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए। उनीहरूले ग्राहक सेवा केन्द्र तथा रिसेप्सनमा आगजनी गर्नुका साथै कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डिङ मेसिनजस्ता विद्युतीय उपकरणसमेत चोरी गरेका छन्।
त्यसैगरी, कम्पनीका महत्त्वपूर्ण कागजात, नगद, सेफ र कर्मचारीहरूको निजी सामानसमेत लुटिएको उजुरीमा उल्लेख छ। कर्मचारीहरूको लकर फोरेर गरगहना र व्यक्तिगत सामग्री समेत लैजाने काम भएको कम्पनीले दाबी गरेको छ। साथै, एनसेलका गाडीहरूमा तोडफोड तथा आगजनी हुँदा ठूलो आर्थिक क्षति भएको जनाएको छ।
एनसेलले क्षतिको विवरण, लुटिएका सामानको सूची तथा घटनाको सीसीटीभी फुटेज प्रहरीलाई बुझाइसकेको र थप तथ्यांक मूल्याङ्कन भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस