कञ्चनपुर, कार्तिक ४ — दुई वर्षअघि इजरायलमा बन्धक बनाइएका विपिन जोशीलाई मंगलबार बिहान कञ्चनपुरको महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सशस्त्र प्रहरीका जवानहरूले सलामी अर्पण गर्दै जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
विपिनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै कञ्चनपुर पुर्याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारीहरूले शव उनको परिवारलाई घरमै हस्तान्तरण गरेका थिए।
राति ढिलो घरमा शव ल्याइएकाले मंगलबार बिहानै शवयात्रा निकालेर महाकालीको भुजेलाघाटस्थित घाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका विपिन सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए। गाजाबाट इजरायल प्रवेश गरेका लडाकूहरूले उनलाई नियन्त्रणमा लिएर बन्धक बनाएका थिए। त्यसयता उनको अवस्था अज्ञात थियो।
हालै इजरायल–हमासबीचको युद्धबिरामपछि बन्धकहरूको विवरण सार्वजनिक गर्ने क्रममा इजरायली सेनाले विपिनको मृत्यु सन् २०२३ मै भएको पुष्टि गरेको थियो। इजरायलले पठाएको फरेन्सिक रिपोर्टमा उनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ।
तिहारको उमङ्गबीच विपिनको शव घर आइपुग्दा वातावरण शोकाकुल बनेको छ। परिवारका सदस्य किशोर जोशीले भने, “पुष्पा यसपालि भाइटीकामा दाजुसँग भेट्ने तयारीमा थिइन्, तर लक्ष्मीपूजाको दिन घरमा दाजुको शव आइपुग्दा सबै रोए।”
परिवारले दाजुको निधनको खबर पुष्टि भएपछि घरमा राखिएका सयपत्री फूलहरू पनि हटाएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस