धादिङ, चैत ५ - धादिङका १३ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरूले प्रतिनिधिसभा सदस्य आशिका तामाङले जारी गरेको निर्देशनको विरोध गरेका छन्। बिहीबार नीलकण्ठ नगरपालिकामा बसेको बैठकमा उनीहरूले तीनै तहबीचको पारस्परिक सम्मान र सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
आशिकाले अवैध बालुवा उत्खनन र अवैध कर संकलन रोक्न स्थानीय तहहरूलाई निर्देशन दिएकी थिइन्। उनले बेनीघाट रोराङ गाउँपालिका–९ मा त्रिशूली नदीबाट भइरहेको बालुवा तथा गिट्टी उत्खनन तत्काल रोक्न पत्रमार्फत चेतावनी पनि दिएकी थिइन्।
स्थानीय तहका प्रतिनिधिहरूले आशिकाको निर्देशनलाई आफ्नो संवैधानिक अधिकारमा हस्तक्षेपको प्रयासको रुपमा लिएका छन्। बैठकले प्रशासनमार्फत सुरु भएको सांकेतिक हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रो क्षेत्राधिकार भित्रका निर्णय स्वतन्त्र रूपमा लिन चाहन्छौं र यस प्रकारका बाह्य हस्तक्षेप स्वीकार्य छैन।”
प्रतिक्रिया दिनुहोस