काठमाडौँ, चैत २६ - पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १३ दिनपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई उपचाररत अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।
प्रहरीका अनुसार ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेकाले चिकित्सकको सिफारिसअनुसार उनलाई अस्पतालमै राखिएको छ। आगामी उपचार र स्वास्थ्यसम्बन्धी निर्णय चिकित्सककै सुझावअनुसार अघि बढाइने बताइएको छ।
ओलीलाई जेनजी आन्दोलन दमनको आरोपमा चैत १४ गते निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई तुरुन्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
यसैबीच, ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेकी थिइन्। सोही विषयमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन आदेश दिएको थियो।
अदालतले तोकिएको समयभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न निर्देशन दिएपछि प्रहरीले ओलीलाई मुक्त गरेको हो। रिहापछि उनलाई लिन उनकी पत्नी अस्पताल पुगेकी थिइन्।
उता, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि छिट्टै रिहा गर्ने प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ। उनी हाल प्रहरीको नियन्त्रणमा महाराजगञ्जस्थित गणमा राखिएका छन्।
प्रतिक्रिया दिनुहोस