३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१० जिल्लामा बर्डफ्लुको असर, पाँच लाखभन्दा बढी पन्छी नष्ट



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ५३
  • काठमाडौँ, जेठ २६ - बर्डफ्लुको संक्रमण नियन्त्रण गर्न सरकारले प्रभावित जिल्लाहरूमा आकस्मिक अभियान सञ्चालन गरेको छ। संक्रमण फैलिन नदिन ‘द्रुत कार्य टोली’ परिचालन गरी संक्रमित तथा जोखिममा रहेका पन्छी र तिनका उत्पादन नष्ट गर्ने काम भइरहेको छ।

    पशुसेवा विभागका अनुसार हालसम्म १० जिल्लाका ७२ फार्ममा संक्रमण पुष्टि भएपछि करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएका छन्। यसमध्ये लेयर्स तथा स्थानीय जातका कुखुरा सबैभन्दा बढी प्रभावित भएका छन्। साथै सात लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरिएको छ।

    विभागका महानिर्देशक डा. उमेश दाहालले बर्डफ्लु झापा, मोरङ र सुनसरीबाट सुरु भई महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ उपत्यका र नवलपरासीसम्म फैलिएको जानकारी दिए। उनका अनुसार रोगको उपचार नभएकाले संक्रमण देखिएलगत्तै नियन्त्रण गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।

    हाल काठमाडौँ, भक्तपुर र ललितपुरमा जोखिम उच्च रहे पनि अन्य केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ उन्मुख रहेको विभागको दाबी छ। प्रभावित क्षेत्रका किसानले रोग नियन्त्रणका लागि पन्छीजन्य उत्पादन नष्ट गर्नुपरेको अवस्थामा सरकारले लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।

    संक्रमित क्षेत्र पूर्ण रूपमा सुरक्षित घोषित नभएसम्म त्यहाँको कुखुरापालन व्यवसाय पुनः सञ्चालन गर्न नपाइने जनाइएको छ।