
युट्युब भ्लगर रतन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिको लागि माफी मागेका छन्।
जापानमा रहेका कार्कीले काठमाडौंको दशरथ रंगशालामा सम्पन्न साफ च्याम्पियनसिपको नेपाल-बंगलादेशबीचको फाइनल खेलमा नेपाल पराजित भएपछि सामाजिक सञ्जालमा ओलीप्रति आक्रमण गर्ने शैलीमा टिप्पणी गरेका थिए।
उक्त अभिव्यक्ति भाइरल भएपछि नेपाल प्रहरीको साइबर ब्युरोले कार्कीमाथि निगरानी बढाएको थियो। यसै क्रममा, प्रधानमन्त्री ओलीमाथि उच्छृंखल टिप्पणी गर्ने अन्य व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी राख्ने जनाएको छ।
माफी माग्दै कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हिंसात्मक शब्द बोल्न पुगेछु, त्यसका लागि सबैसँग क्षमा चाहन्छु। दर्शकलाई हँसाउने उद्देश्यले बोल्दा त्रुटी भएको हो। मेरो अभिव्यक्तिको उद्देश्य कसैप्रति व्यक्तिगत प्रहार गर्नु थिएन।”
उनको यो अभिव्यक्तिले थप विवाद उत्पन्न गरेको थियो भने उनले माफी मागेपछि विवाद केही मत्थर भएको छ।
प्रतिक्रिया दिनुहोस