१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार ३४७ जना अझै सम्पर्कविहीन



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या १२
  • काठमाडौं, भदौ १५ - भोटेकोशी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परी २ सय ६७ जना घाइते भएका छन् भने ४ हजार ३ सय ४७ जना अझै सम्पर्कविहीन छन् ।

    बाढी र पहिरोबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई सुरक्षाकर्मीले निरन्तरता दिएका छन् ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ८ सय ९९ सुरक्षाकर्मी परिचालन गरिएको छ । विपद्मा फसेका १० हजार ४ सय ५९ जनाको हालसम्म उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

    नेपाली सेनाले हेलिकप्टरमार्फत ३ हजार ३ सय ४४ नेपाली र २ सय ५२ विदेशी नागरिकको उद्धार गरेको छ । उद्धारका लागि हालसम्म ४ सय ११ पटक हवाई उडान गरिएको प्राधिकरणको भनाइ छ ।

    सरकारले मुख्य प्रभावित जिल्लाका रूपमा रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ वटा स्थानीय तहलाई थप ६ करोड ७५ लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइएको छ ।

    प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी छ । खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई समेत प्राथमिकतामा राखिएको छ ।