१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १३९
  • हेटौँडा, चैत २९ — नेपाल पत्रकार महासङ्घ मकवानपुरले पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

    महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा एक टोली आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो।

    चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकमाथि आगो लगाई हत्या गरिएको र सञ्चारगृहमा समेत आक्रमण भएको भन्दै महासङ्घले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाको प्रत्याभूति तथा प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

    अध्यक्ष अधिकारीका अनुसार महासङ्घले चैत १८ गते गृहमन्त्री रमेश लेखकलाई समेत ध्यानाकर्षण पत्र बुझाएको भए पनि सरकारले अझैसम्म कुनै ठोस पहल नगरेको आरोप लगाएका छन्।

    ध्यानाकर्षण पत्र बुझ्दै आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टले आयोगले चैत १५ गतेको घटनापछि नै अनुसन्धान थालेको र निष्पक्ष छानबिन भइरहेको जानकारी दिए।

    उनले मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकार सुरक्षाका विषयमा सरकारलाई निरन्तर निर्देशन दिइरहेको बताए।