८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक

भिडियोमा एक ट्राफिक सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेट्दै कुटपिट गरिरहेको देखिन्छ।



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १३५
  • काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोमा एक ट्राफिक सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेट्दै कुटपिट गरिरहेको देखिन्छ।

    यसअघि बिहीबार सार्वजनिक भएको कुटपिटको भिडियोबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन सुरु गरिरहेको समयमा दोस्रो भिडियो सार्वजनिक भएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपक गिरीले शुक्रबार रातोपाटीसँग कुरा गर्दै नयाँ भिडियो पनि प्रहरीको ध्यानमा आइसकेको जानकारी दिए।

    ‘भिडियो हाम्रो जानकारीमा आएको छ, घटनास्थल कहाँ हो भन्ने विषयमा बुझ्दैछौं,’ उनले भने।

    यसअघि सार्वजनिक भएको घटनामा ४ जना ट्राफिक प्रहरीले संयुक्त रूपमा एक सर्वसाधारणमाथि कुटपिट गरेको देखिएको थियो। सो घटना २०८१ मंसिर २३ गते काठमाडौंको सुनधारास्थित आकाशे पुलमुनि भएको पुष्टि भइसकेको छ।

    उक्त घटनामा संलग्न प्रहरी जवानसहित घटनास्थलमा देखिएका चार जनालाई जिम्मेवारीबाट हटाई उपत्यका प्रहरी कार्यालयमा झिकिएको एसपी गिरीले जानकारी दिए। ‘दिउँसो १ बजेतिर घटना भएको रहेछ, छानबिन प्रक्रिया अगाडि बढाइनेछ,’ उनले स्पष्ट पारे।

    प्रहरीको यस्तो आचरणप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने आम नागरिकले दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्।