१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिशूली–३ ‘ए’को सुरुङ सफाइ तीव्र, पाँच दिनमा २० हजार घनमिटर लेदो हटाइयो



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५३
  • काठमाडौं, भदौ १८ - रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट सुरुङ प्रवेश क्षेत्रमा थुप्रिएको लेदो, ढुंगा र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ।

    बाढीपछि १३ भदौदेखि दुईवटा एक्स्काभेटर प्रयोग गरेर सफाइको काम भइरहेको छ। पाँच दिनको अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका संरचना र ठूला बोल्डर हटाइएको उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले जानकारी दिए। यस क्रममा दुई दर्जनभन्दा बढी ठूला बोल्डर नियन्त्रित विस्फोटमार्फत हटाइएको छ।

    आवश्यकताअनुसार ब्रेकर र नियन्त्रित विस्फोटक प्रयोग गर्दै चौबीसै घण्टा सफाइ भइरहेको छ। हाल सुरुङको प्रवेश क्षेत्रमा करिब ५० मिटर भाग सफा भइसकेको छ। सुरुङ ५.५ मिटर अग्लो रहेकाले एक्सेस तथा पानी निकासको संरचना तयार गरेपछि भित्र जम्मा भएको लेदो हटाउने काम अघि बढाइने जनाइएको छ।

    प्रारम्भिक निरीक्षणमा सुरुङभित्र पानी जमेको अवस्था नरहेको देखिएको छ। सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटर पानी बाहिर निस्किरहेको र पानीको दबाब नरहेको इन्जिनियर न्यौपानेले बताए। सुरुङको मुखतर्फ भने लेदो, गेटको स्ल्याब, काठका ठूला टुक्रा र बोल्डरले अवरोध गरेका छन्।

    १६० मिटर लामो सुरुङमा करिब ६० मिटरको दूरीमा घुम्ती रहेको छ। पावरहाउसतर्फ सुरुङ उकालो रहेकाले भित्री संरचना सुरक्षित रहेको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि सुरुङभित्रको वास्तविक अवस्था भने सफाइपछि मात्र यकिन हुने बताइएको छ।

    घटनास्थलमा सडक पहुँच नभएकाले मेसिन र आवश्यक सामग्री हेलिकप्टरबाट लैजानुपर्ने अवस्था छ। यसले केही काममा समय लागे पनि उद्धार तथा सफाइलाई निरन्तरता दिइएको इन्जिनियर न्यौपानेले बताए।