काठमाडौं, भदौ १७ - राजमार्गमा देखिएको पहिरो तथा सडक अवरोधका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि घरायसी उपभोक्तालाई प्राथमिकता दिइने भएको छ । नेपाल आयल निगमले तत्कालका लागि सर्वसाधारणको भान्सामा ग्यासको अभाव हुन नदिन घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राखेको हो ।
होटल, रेस्टुरेन्टलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले भने ग्यास उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने व्यवस्था गरिएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक लगाइएको भने होइन । तर, अहिलेको विषम परिस्थितिमा घरायसी उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न प्राथमिकता दिइएको हो ।
सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ उद्योगमध्ये १८ वटामा ग्यास बोकेका बुलेट पुग्न सकेका छैनन् । धादिङ, काभ्रे र काठमाडौंमा रहेका ती उद्योगमा बुलेट जान नसकेपछि सिलिन्डरहरू ट्रकमार्फत तराईका बोटलिङ प्लान्टमा पठाएर पुनः भरेर उपत्यकामा ल्याउने तयारी भइरहेको छ ।
निगमका अनुसार व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले काठमाडौंका ब्रान्डमा ग्यास भर्ने तराई क्षेत्रका उद्योगबाट आफैँ ढुवानी गरेर ग्यास ल्याउन सक्नेछन् । सडक अवरोधका कारण नियमित ढुवानी प्रभावित भएपछि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सहज बनाउने प्रयास भइरहेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस