पोखरा, बैशाख २१ - नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा "नेपालको वर्तमान अवस्थामा आर्थिक, सामाजिक र राजनैतिक विषय" अन्तरक्रिया छलफल कार्यक्रम २०८२ बैशाख २१ गते आइतबार पोखराको जरेबरस्थित लाङघालि भान्छा घरमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा महासचिव विप्लव सीले देशको वर्तमान राजनैतिक अस्थिरताका कारण आर्थिक क्षेत्र कमजोर बन्दै गएको बताए। उनले विगत १८ वर्षयताकै कमजोर राजनीतिक अवस्था रहेको र यसले देशको अर्थतन्त्रमा नराम्रो असर पारेको विचार व्यक्त गरे। प्रमुख अतिथि विप्लवले एमाले, कांग्रेस र माओवादीलगायतका दलहरूले आर्थिक रूपमा स्पष्ट मार्गचित्र कोर्न नसकेको आरोप लगाए।
महासचिव विप्लवले अहिले देशका जनता राजनीतिक र आर्थिक दुवै दृष्टिकोणबाट सन्तुष्ट नरहेको बताए। उनले दलाल पुँजीवादी र पुरानो अर्थ सम्बन्धका कारण व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादले मात्र यसको समाधान गर्न सक्ने दाबी गरे।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी र नेकपा पार्टीका पिबिएम तथा कास्की इन्चार्ज आस्था सीको पनि उपस्थिति थियो। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष सन्जिप बहादुर कोइरालाले गरेका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासचिव विप्लव सीले ब्यानर पढेर गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका उद्योगी, व्यवसायी, राजनीतिकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस