१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ३१
  • काठमाडौं, भदौ १७ - देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाका कारण प्रमुख नदीहरूको जलसतह बढेको छ। सुनकोशी, बुढीगण्डकी र महाकाली नदीको पानी सतर्कता तहभन्दा माथि पुगेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजेको मापनमा सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ। उक्त स्थानमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ। हाल सुनकोशीको बहाव स्थिर रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै, गोरखाको आरुघाटमा बुढीगण्डकी नदीको जलसतह ३.६ मिटर पुगेको छ। यहाँको सतर्कता तह ३.५ मिटर हो। बुढीगण्डकीको जलसतह भने विस्तारै घटिरहेको छ। डडेलधुराको पारीगाउँमा महाकाली नदीको जलसतह ६.३७ मिटर पुगेको छ, जहाँ ५.८ मिटरलाई सतर्कता तह तोकिएको छ। महाकालीको बहाव अहिले स्थिर रहेको जनाइएको छ।

    नदीमा पानीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहन सक्ने भएकाले महाशाखाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थान पहिचान गरी आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।