१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहकारी प्रकरणमा रविविरुद्ध उजुरी नदिएको भन्दै बोल्न थाले पीडितहरू

उजुरी दिएको भनिएका बचतकर्ताहरू एकपछि अर्को गर्दै सार्वजनिक रूपमा आफूले उजुरी नदिएको भन्दै सामाजिक सञ्जालमार्फत मुख खोल्न थालेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १२८
  • बुटवल, जेठ २– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पूरक अनुसन्धानमा उजुरी दिएको भनिएका बचतकर्ताहरू एकपछि अर्को गर्दै सार्वजनिक रूपमा आफूले उजुरी नदिएको भन्दै सामाजिक सञ्जालमार्फत मुख खोल्न थालेका छन्।

    रुपन्देहीको तिलोत्तमाकी पूजा न्यौपानेले सामाजिक सञ्जालमार्फत आफूले रविविरुद्ध जाहेरी नदिएको प्रस्ट पारेकी छन्। यसअघि जाहेरीकर्ताको सूचीमा समावेश गरिएका नारायण पहराई र गीता आचार्यले पनि प्रहरीको अनुमतिविनै आफूहरूलाई रविविरुद्ध प्रयोग गरिएको बताएका थिए।

    नारायण पहराईले भनेका छन्, "बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ। तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिइरहेको छ। यो प्रचारमा कुनै सत्यता छैन।"

    त्यस्तै, गीता आचार्यले पनि फेसबुकमार्फत प्रहरी प्रशासनले आफ्नो उजुरीलाई प्रयोग गरेर रविविरुद्ध मुद्दा चलाएको आरोप लगाएकी छन्। पछिल्लो समय पूरक जाहेरीमार्फत रविलाई प्रतिवादी बनाइएकोमा रास्वपाका लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले पनि असन्तोष जनाएका छन्।

    जिल्ला अदालत रुपन्देहीबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालतको आदेशमा पुर्पक्षका लागि पुनः थुनामा राखिएको हो। हाल उनी रुपन्देही कारागारमा छन्। उक्त प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी पनि पक्राउ परेका छन् भने जीबी राईसहितका अन्य केही आरोपी अझै फरार छन्।

    यस घटनाले प्रहरी प्रशासनले बचतकर्ताको नाम प्रयोग गरेर राजनैतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको भन्ने आरोपलाई बल दिएको छ। यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अधिकारीहरू भने अदालतमा मुद्दा चलिरहेको विषयमा प्रतिक्रिया दिन नमिल्ने बताउँछन्।

    सहकारी ठगी प्रकरणमा रविविरुद्ध प्रारम्भिक रूपमा उजुरी नपरेको तर पूरक जाहेरीमार्फत नाम जोडिएको खुलासा भएपछि यस विषयमा थप अनुसन्धानको आवश्यकता देखिएको छ।