१२ जेठ २०८२ सोमबार | 26 May 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ : रास्वपा

रास्वपाले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिई छानबिनमा सघाउनुपर्ने माग गरेको छ।



  • अञ्जना ढकाल
  • १४ घण्टा अघि
  • पाठक संख्या ५७
  • काठमाडौं, जेठ ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिई छानबिनमा सघाउनुपर्ने माग गरेको छ।

    शनिबार बसेको पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकपछि जारी गरिएको विज्ञप्तिमा रास्वपाले विगतमा लेखकले स्वयं संसद्मा प्रश्न उठेपछि राजीनामा दिनुपर्ने विषयमा दिएका अभिव्यक्तिहरू स्मरण गराउँदै यथाशीघ्र पद त्याग गर्न आग्रह गरेको हो।

    विज्ञप्तिमा भनिएको छ, “विगतमा सांसद रमेश लेखकले नै सदनमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो। आज त्यही कुरा उहाँलाई स्मरण गराउँदै निष्पक्ष छानबिनका लागि पदबाट राजीनामा दिन माग गर्दछौं।”

    रास्वपाले सो मुद्दाका कारण आगामी दिनमा संसद् अवरुद्ध हुनसक्ने परिस्थितिलाई राजनीतिक प्रतिशोधको रूपमा नबुझ्न आग्रह गर्दै त्यसले राजनीतिप्रति घृणा पैदा नहोस् भन्ने चेतावनी पनि दिएको छ।

    बैठकले सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गरेको निर्णयलाई कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेको छ। तर, सहकारीको मुद्दालाई जबरजस्ती जोडेर गरिएको फैसलामा आशंका पनि रहेको रास्वपाले जनाएको छ।

    रास्वपाको भनाइमा, “राजनीतिक प्रतिशोधका रूपमा रवि लामिछानेलाई लक्षित गरेर न्यायको नाममा पीडा दिइरहँदा, अदालतबाट न्याय पाइने आशामा जनविश्वास कमजोर नहोस् भन्ने चिन्ता छ।”

    रास्वपाले हालको दुई ठूला दलहरूको १० महिने गठबन्धन सरकारले सात बुँदे सहमतिअनुसार कुनै ठोस काम नगरेको आरोप पनि लगाएको छ।

    सरकारले सुशासनको धज्जी उडाएको, संवैधानिक निकायहरूलाई दलीयकरण गरेको, मानव तस्करीमा समेत संलग्न रहेको गृहमन्त्री र उनको सचिवालयप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ।

    आज दिउँसो २ बजे पार्टीको केन्द्रीय समिति बैठक भौतिक रूपमा बस्ने जानकारी समेत रास्वपाले दिएको छ।