२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुँदै

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुन लागेका छन्।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ५८
  • काठमाडौं, असार ११ - पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुन लागेका छन्।

    नेपाल निकट एक कानुन व्यवसायीका अनुसार अदालतमा उपस्थित हुनका लागि निवेदन दर्ता भइसकेको छ। “अदालतमा उपस्थित हुन पाउँ भन्ने निवेदन विशेष अदालतमा दर्ता गरिसकेका छौं,” ती कानुन व्यवसायीले भने, “त्यही निवेदनका आधारमा पेसी तोकिन्छ र उहाँले बयान गर्नुहुन्छ।”

    बुधबारदेखि सुरु हुने बयान प्रक्रिया सकेसम्म छिटो टुंग्याउने तयारीमा नेपाल पक्षीय कानुन व्यवसायीहरु रहेका छन्। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ, जसमा नेपालका कानुन व्यवसायीहरुले उनलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आग्रह गर्ने योजना बनाएका छन्। तर, सरकारी वकिलले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको आधारमा नेपाललाई थुनामा राख्नुपर्ने माग गर्नेछन्।

    के हो आरोप ?

    भारतको पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोकमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी खेती गर्नका लागि कम्पनी दर्ता गरी २०६४ सालदेखि काम सुरु गरेको थियो। जग्गाको सीमा हदबन्दीले नपुगेपछि २०६६ माघ १८ गते माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न अनुमति दिएको थियो।

    पतञ्जलिले छुट पाएको करिब ६ सय रोपनी जग्गा खरिद गरे पनि केही महिनामै उक्त जग्गा बिक्री गर्ने निर्णय गरेको थियो। यद्यपि, कानुनअनुसार हदबन्दी छुटमा प्राप्त जग्गा बिक्री गर्न पाइँदैन, र कम्पनी विघटन हुँदा त्यस्ता जग्गा स्वतः राज्यको स्वामित्वमा जानुपर्ने व्यवस्था छ। तर, सरकारले नै बिक्रीको अनुमति दिएको तथ्य बाहिरिएपछि अख्तियारले छानबिन थालेको थियो।

    यसै सिलसिलामा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो।