२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डाक्टरहरूको आन्दोलनले बिरामी मर्कामा, देशभर आकस्मिकबाहेक सेवा बन्द

सरकारी बेवास्ता र निर्णय नसच्याइएपछि आन्दोलनको स्वरूप कडा पार्दै आकस्मिकबाहेक सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको हो।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६५
  • काठमाडौं, असार २३ – नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेक सबै नियमित सेवा बन्द हुँदा बिरामीहरू स्वास्थ्य सेवा नपाई अन्यौलमा परेका छन्।

    संघले उपभोक्ता अदालतका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप भएको आरोप लगाउँदै चरणबद्ध आन्दोलन गर्दै आएको थियो। आन्दोलनको क्रमलाई अगाडि बढाउँदै सोमबार आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो।

    देशका प्रमुख अस्पतालहरू—वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल लगायतका स्थानमा बिहानैदेखि उपचारका लागि आएका बिरामीहरू ओपीडी सेवा नपाएपछि निराश हुँदै फर्किएका थिए। कतिपय आफन्तहरू अस्पतालका सूचना पाटीमा टाँसिएको ‘सेवा बन्द’को सूचना पढेर बिनाउपचार घर फर्किन बाध्य भएका छन्।

    संघले हालै उपभोक्ता अदालतले सुनाएका निर्णयहरूले चिकित्सक तथा स्वास्थ्य संस्थाहरूको स्वतन्त्रतामा प्रत्यक्ष हस्तक्षेप गरेको दाबी गर्दै आएको छ। अदालतले ओम अस्पताल, ग्राण्डी सिटी अस्पताल र हिमाल अस्पतालसहित त्यहाँ कार्यरत चिकित्सकहरूलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।

    चिकित्सक संघले यसअघि असार १७ गतेदेखि सबै स्वास्थ्यकर्मीलाई कालोपट्टी बाँधेर सेवा दिन आग्रह गरेको थियो। तर, सरकारी बेवास्ता र निर्णय नसच्याइएपछि आन्दोलनको स्वरूप कडा पार्दै आकस्मिकबाहेक सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको हो।

    यसरी अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवा अवरुद्ध हुँदा धेरै बिरामीहरू आवश्यक स्वास्थ्य सेवा पाउन नसकी अप्ठ्यारोमा परिरहेका छन्। सरकारले यस विषयमा तत्काल ध्यान नदिए स्थिति अझ जटिल बन्ने देखिएको छ।