काठमाडौं, असार २७ – लामो समयपछि बोलाइएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ।
शुक्रबार काठमाडौं प्लाजास्थित महानगर कार्यालयमा बसेको बैठकमा मेयर बालेन्द्र शाहले मात्र एक प्रस्ताव पेस गरेपछि बैठक तुरुन्तै सकिएको हो।
६ महिनापछि बसेको यस बैठकमा मेयर शाहले आइतबार बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव प्रस्तुत गरे। प्रस्ताव प्रस्तुत गर्नेबित्तिकै कार्यपालिका सदस्यहरूले त्यसलाई सहमति जनाए। अन्य कुनै एजेन्डा नथपिएकाले मेयर शाहले बैठक समाप्त भएको घोषणा गरे।
“यद्यपि एजेन्डामा २४ वटा विषयहरू राखिएको भए पनि आजको बैठकमा मात्र एउटा प्रस्ताव पेस गर्ने सहमति भएको हो,” मेयर शाहले भने।
त्यसैगरी, आजै महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ। यो सीमा राजस्व परामर्श समितिको बैठकले तय गरेको हो।
महानगरपालिकाले यही आइतबार उक्त बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस