काठमाडौं, असार ३१ – संयुक्त राष्ट्रसंघीय सम्मेलनका नाममा स्पेनको सेभिल्ला शहरमा असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराएको आरोपको अनुसन्धान गर्न नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।
छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा रहेको टोलीलाई दिइएको छ। समिति सदस्यहरूमा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवरसहित ६ जना रहेका छन्।
गृह मन्त्रालयका अनुसार, गृहमन्त्री रमेश लेखकको निर्देशनपछि अनुसन्धान प्रक्रिया सुरु गरिएको हो। घटनाबारे विस्तृत अध्ययन गरी दोषी ठहरिनेहरूमाथि फौजदारी मुद्दा दायर गरिने तयारी छ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको सम्मेलनमा बिचौलियाहरूले रकम लिएर असम्बन्धित व्यक्तिहरूलाई भिजिट भिसामा पठाएको विषय संसदसम्म उठेको थियो। सांसदहरूले सो प्रकरणमा सरकारी तहमा गम्भीर लापरवाही भएको भन्दै प्रश्न उठाएका थिए।
स्पेनको सेभिल्लामा २०८२ असार १६ गतेदेखि १८ गतेसम्म (३० जुन–२ जुलाई) आयोजित उक्त सम्मेलनमा नेपालबाट सहभागी गराउने नाममा केही बिचौलियाहरूले नक्कली कागजात तयार पारी भिजिट भिसा बनाएर व्यक्तिहरूलाई पठाएको आरोप लागेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार, स्पेन पुगेका ती व्यक्तिहरू सम्मेलनपछि स्वदेश फर्किए कि फर्किएनन् भन्ने यकिन भइनसकेको अवस्थामा छ। यसैले सो प्रकरणमा संलग्न गिरोह पहिचान गर्नका लागि विस्तृत अनुसन्धान आवश्यक रहेको बताइएको छ।
CIB का एक उच्च अधिकारीका अनुसार प्रारम्भिक जानकारीका आधारमा अनुसन्धान अघि बढाइएको छ र दोष देखिएमा सम्बन्धित व्यक्ति वा समूहविरुद्ध फौजदारी अभियोग चलाइने छ। “यो घटना मानव बेचबिखन र सरकारी प्रक्रियाको दुरुपयोगसँग जोडिएको गम्भीर विषय हो,” अधिकारीले भने।
सरकारले यसलाई उच्च प्राथमिकताको रूपमा लिएको छ र अनुसन्धान निष्पक्ष ढंगले अघि बढाइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस