१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१४ वर्षपछि आमाको काखमा फर्किइन् स्वस्तिका, बाबुको खोजी अझै जारी



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३५३
  • काभ्रेपलाञ्चोक, साउन ६ -१४ वर्षअघि धुलिखेलको सडकछेउमा ‘खानेकुरा ल्याइदिन्छु’ भन्ने बहानामा छोडेर फरार भएका बाबु अझै भेटिएका छैनन्। तर, त्यो दिनबाट टुहुरी जस्तै भएकी बालिका स्वस्तिका केसी अहिले १८ वर्षकी भइसकेकी छन् र उनी आमाको काखमा फर्किएकी छन्।

    १७ वैशाख २०६८ मा धुलिखेल नगरपालिका–७ स्थित सडक छेउमा आफ्नै बाबुले ६ वर्षीया स्वस्तिकालाई छोडेर कहिल्यै फर्केर हेरेनन्। त्यसयता उनको जीवन अनेक मोड हुँदै अघि बढ्यो।

    बुबाले छाडेर गएपछि धुलिखेलकै राधा माकजुले स्वस्तिकालाई फेला पारिन् र एक वर्षसम्म आफ्नो साथमा राखेर विद्यालय भर्ना गराइन्। पछि विदेश जानु परेपछि उनले बालिकालाई सिद्धार्थ बालगृहको जिम्मा लगाइन्।

    सिद्धार्थ बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठको संरक्षणमा हुर्किएकी स्वस्तिकाले कक्षा १० सम्म सञ्जीवनी नमुना माध्यमिक विद्यालय र कक्षा ११–१२ आदर्श विद्या मन्दिर, बनेपाबाट पढाइ पूरा गरिन्।

    नागरिकता बनाउने बेला परिवारको विवरण आवश्यक भएपछि स्वस्तिकाको वास्तविक परिचय खोज्ने प्रयास शुरु भयो। श्रेष्ठले सामाजिक अभियन्ता अर्जुन भुसाललाई सहयोगका लागि अनुरोध गरिन्।

    भुसालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोले चमत्कारी परिणाम ल्यायो। भिडियो हेरेपछि चितवनबाट स्वस्तिकाकी आमा मञ्जु केसीले सम्पर्क गरिन्।

    चितवन पुगेर आमासँग पुनर्मिलनको भावुक क्षण सम्झिँदै स्वस्तिकाले अनलाइनखबरलाई भनिन्, “भेट्दा म अवाक भएँ, यति खुसी होला भन्ने सोचेको थिइनँ। ममीसँग भेट्दा खुशीको आँसु आफैँ खस्यो।”

    स्वस्तिकाकी आमा मञ्जुले पहिल्यै पतिको अत्याचार सहन नसकेर घर छोडेकी थिइन्। माइती नभएकी मञ्जुले पछि अर्को विवाह गरेकी थिइन्। बाबुले पनि दोस्रो विवाह गरेपछि छोरीप्रतिको व्यवहार बदलिएको थियो। अन्ततः ६ वर्षीया छोरीलाई सडकमा छोडेर हराए।

    स्वस्तिकाकी आमासँग भेट भए पनि उनले अझै आफ्नो बुबाको वास्तविकता बुझ्न चाहने बताएकी छन्। सामाजिक अभियन्ता भुसाल अहिले उनका बाबुकाे खोजीमा छन्।

    सूचनाका आधारमा उनका बाबु अमलेखगञ्ज आसपास पेट्रोलियम ट्यांकरमा टोकन प्रणालीको काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। भुसाल त्यहीँ खोजीका लागि जाने तयारीमा छन्।