काठमाडौँ – सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगका लागि तोकिएको दस्तुर संशोधन गर्दै साना सवारीको शुल्क घटाएको र ठूला तथा भारी सवारीको शुल्क भने बढाएको छ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार सुरुङमार्ग प्रयोग गर्दा समय, इन्धन र मर्मत खर्चमा करिब ७० प्रतिशतसम्म बचत हुने दाबी गरिएको छ।
नयाँ दरअनुसार कार, भ्यान, जीप, पिकअप तथा माइक्रोबसका लागि काठमाडौँ प्रवेश शुल्क ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ रहनेछ। यसअघि प्रवेशमा ७५ र बाहिरिँदा ५० रुपैयाँ प्रस्ताव गरिएको थियो।
मिनिबस, मिनिट्रक र टिपरको प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकका लागि प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ। भारी सवारीका लागि काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार दस्तुर निर्धारण वैज्ञानिक अध्ययनमा आधारित छ। उनका अनुसार एक भारी सवारीले सुरुङमार्ग प्रयोग गर्दा इन्धन, टायर र समय बचत गरी औसतमा करिब २,८०० रुपैयाँ जोगाउँछ, जसको ३० प्रतिशत बराबर शुल्क लिन सकिने कानुनी प्रावधान भए पनि त्यसभन्दा कम शुल्क तोकिएको हो।
सुरुङमार्ग प्रयोग अनिवार्य नभई स्वेच्छिक हुने बताइएको छ। पैदल यात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारी, अत्यधिक प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारी, तोकिएको आकार–भारभन्दा बढी भएका सवारीलाई प्रवेशमा रोक लगाइनेछ।
निर्देशिकाअनुसार सुरुङमार्गभित्र अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर हुने, ओभरटेक, युटर्न, हर्न बजाउन निषेध हुने र हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्नेछ।
करिब २.६ किलोमिटर लम्बाइको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ–सिस्नेखोला दूरी ८ किलोमिटरले छोटिनेछ। हाल ९३ प्रतिशत भौतिक प्रगति पुगेको परियोजना आगामी पुस–माघभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस