काठमाडौं, भदौ २६ - राजधानीमा भइरहेको जेनजी आन्दोलनका क्रममा गोरखाका तीन युवा प्रहरी गोलीको शिकार बनेका छन्। सोमबारदेखि सुरु भएको आन्दोलनमा ३० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ।
बारपाक सुलीकोट-५ नारेश्वरडाँडाका विमल भट्ट (२२) संसद् भवन अगाडि भएको प्रदर्शनको क्रममा गोली लागेर ढलेका हुन्। उनको निधन घटनास्थलमै भएको थियो। भट्ट हाल काठमाडौंमा उच्च शिक्षा अध्ययनरत थिए।
त्यसैगरी, गण्डकी गाउँपालिका-४ ढाबेका अर्जुन भट्ट (२३) पनि प्रदर्शनमा सहभागी भएर सरकारको विरोध गर्दै गर्दा टाउकामा गोली लागेर मृत्युवरण गरेका छन्। उनी हाल जापानी भाषा अध्ययन गर्दै थिए र केही समयअघि मात्र दुबईबाट स्वदेश फर्किएका थिए।
मंगलबार दिउँसो महाराजगञ्ज प्रहरी चौकी नजिकै प्रदर्शनका क्रममा पालुङ्टार-३ बर्देडाँडाका रमेश पराजुली (४०) छातीमा गोली लागेर मारिएका छन्। व्यवसायी पराजुली काठमाडौंको तारकेश्वर-१ साङ्लाफाँटमा बसोबास गर्दै आएका थिए।
यस्ता घटनाले आन्दोलनको क्रममा बढ्दो हिंसात्मक रुपप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस