२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भट्टराईको चेतावनी – भ्रष्टीकृत शक्तिलाई टाउको उठाउन नदिनुहोस्



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६३
  • काठमाडौं, असोज ९ - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूलाई फेरि अवसर दिनु मुलुकका लागि घातक हुने चेतावनी दिएका छन् ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्ण रूपमा भ्रष्टीकृत भइसकेका दललाई बचाउने प्रयास भए इतिहासले कठोर हिसाब गर्ने बताए । उनका अनुसार अब मुलुकको नेतृत्व नयाँ पुस्ता र वैकल्पिक शक्तिले गर्नुपर्ने आवश्यकता छ ।

    भट्टराईले जेन–जी आन्दोलनको क्रममा राज्यको सुरक्षा संयन्त्र गम्भीर त्रुटीमा देखिएको आरोप लगाए । उनले भने, “युवामाथि बल प्रयोग भयो, तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जलेर नष्ट हुँदा पनि सुरक्षा निकाय नहेरी बस्यो । यसले पुराना शक्तिलाई पाल्ने प्रवृत्ति देखाउँछ ।”

    उनको भनाइमा सरकारले विद्रोही शक्तिसँग संवाद गरेर उनीहरूको सुझावअनुसार अघि बढ्नुपर्छ । कुनै पनि बहानामा पुराना दलहरूको रक्षा गर्ने काम भए त्यो मुलुकको हित विपरीत हुने उनले चेतावनी दिए ।

    भट्टराईले युवापुस्ताले वैकल्पिक नेतृत्व निर्माण गरेर शासकीय सुधारमार्फत मुलुकलाई दिगो विकासतर्फ लैजानुपर्नेमा जोड दिए । “अब नयाँ शक्ति उदाउनु अपरिहार्य छ, पुराना भ्रष्ट दललाई फेरि मौका दिनु हुँदैन,” उनले भने ।