१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर भाइरल, प्रहरीको खोजी सुरु



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३१९
  • काठमाडौं, असोज २६ - जेन–जी आन्दोलनका क्रममा ‘टीओबी’ (Tibetan Original Blood) लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।

    तस्बिर सार्वजनिक भएपछि काठमाडौं प्रहरी परिसरले ती युवकको खोजी प्रक्रिया सुरु गरेको छ। प्रहरीले सो तस्बिरसँग सम्बन्धित भिडियो फुटेजहरू समेत संकलन गरी घटना सत्यापनको काम अघि बढाएको जनाएको छ।

    प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, तस्बिरमा देखिएका व्यक्तिहरूको पहिचान गर्न पहल भइरहेको छ। उनले भने, “फोटोको यथार्थ बुझ्ने प्रयास भइरहेको छ, प्रमाण पुष्टि भएपछि कानूनी कारबाही गरिनेछ।”

    भाइरल तस्बिरमा बिजुलीबजार नजिक रहेको पुलजस्तो स्थानमा ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडिको भागमा पेस्तोलजस्तो वस्तु राखिरहेको देखिन्छ। छेउमै अर्का युवकले नियालिरहेको दृश्य पनि तस्बिरमा प्रष्ट देखिन्छ।

    हालै जेन–जी आन्दोलनमा ‘टीओबी’ टिसर्ट लगाएका केही युवाहरूको संलग्नताबारे सामाजिक सञ्जालमा उठेका प्रश्नपछि प्रहरी सचेत बनेको छ। प्रहरीका अनुसार, तस्बिर र आन्दोलनबीच सम्बन्ध छ कि छैन भन्नेबारे प्राविधिक परीक्षण र थप अनुसन्धान भइरहेको छ।