काठमाडौं, असोज २७ - देशका विभिन्न भागमा डेंगु संक्रमण फेरि तीव्ररूपमा फैलिएको छ। पछिल्लो सातामा मात्रै ४१३ जनामा नयाँ संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले जनाएको छ।
सन् २०२५ को सुरुदेखि हालसम्म देशभर ५ हजार ८७४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ७५ जिल्लामा यो रोग फैलिसकेको छ। संक्रमणकै कारण हालसम्म ४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।
प्रदेशगत विवरणअनुसार पछिल्लो सातामा गण्डकी प्रदेशमा सबैभन्दा बढी १५१ जना नयाँ संक्रमित थपिएका छन्। त्यसपछि बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेश प्रदेशमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा डेंगु पत्ता लागेको थियो। सुरुमा तराई क्षेत्रमा सीमित यो रोग २०१८ पछि पहाडसम्म फैलिएको हो। सन् २०१९ मा पहाडी जिल्लामा ठूलो महामारीकै रूपमा फैलिएको यो रोग २०२० मा धरान केन्द्रित प्रकोपको रूपमा देखा परेको थियो, जसमा १८ हजारभन्दा बढी संक्रमित भएका र १२ जनाको मृत्यु भएको थियो।
पछिल्ला वर्षका तथ्यांक
– २०२२ मा ७७ वटै जिल्लामा ५४ हजारभन्दा बढी संक्रमित, ८८ जनाको मृत्यु
– २०२३ मा कोशी प्रदेशमा केन्द्रित संक्रमण, ५२ हजारभन्दा बढी संक्रमित, २० मृत्यु
– २०२४ मा ४१ हजार ८६५ संक्रमित, १५ जनाको मृत्यु
डेंगुका लक्षण
डेंगु भएका बिरामीमा ज्वरो आउने, टाउको र आँखाका गेडी दुख्ने, शरीरमा राता दाना देखिने, मांसपेसी र जोर्नी दुख्ने, पिँडौला तथा ढाड दुख्ने जस्ता लक्षण देखिन्छन्। डेंगुका बिरामीहरूमा ज्वरो घटेको ७२ घण्टासम्म क्रिटिकल अवस्था रहन्छ, जसमा जटिलता र मृत्युको जोखिम रहन्छ।
फैलिने कारण
जनस्वास्थ्य विज्ञहरूका अनुसार डेंगुको बढ्दो प्रकोपमा तापक्रम वृद्धि, अव्यवस्थित शहरीकरण, जनघनत्व, जलवायु परिवर्तन, र लामो बर्खा प्रमुख कारण हुन्। एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस नामका लामखुट्टेबाट सर्ने यो रोग मुख्यतः पानी जम्ने स्थानहरू—जस्तै टायर, गमलाका प्लेट, र फालेका कन्टेनरहरूमा—फैलिन्छ।
सावधानीका उपाय
डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो।
साँझ र बिहान बाहिर ननिस्कनु,
पूरा शरीर ढाक्ने लुगा लगाउनु,
झ्यालढोका र झुल प्रयोग गर्नु,
घर वरिपरि पानी नजम्ने व्यवस्था गर्नु,
र सामुदायिक रूपमा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ।
प्रतिक्रिया दिनुहोस