१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्री अर्याल : जेनजी आन्दोलनमा ध्वस्त भएका प्रहरी पोष्ट पुनःस्थापना सम्पन्न



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २४४
  • काठमाडौं, असोज २९ - गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा नष्ट भएका सबै प्रहरी पोष्टहरू पुनःनिर्माण गरी सञ्चालनमा आइसकेको बताएका छन्। बुधबार गृह मन्त्रालय परिसरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री अर्यालले सुरक्षा संयन्त्रलाई पुनःस्थापित गर्न आवश्यक सबै काम पूरा भइसकेको जानकारी दिए।

    उनका अनुसार आन्दोलनका क्रममा ध्वस्त वा क्षतिग्रस्त भएका प्रहरी पोष्टहरू पुनःनिर्माण गरिएका छन्। यद्यपि, कति पोष्ट भत्किएका थिए भन्ने विवरण उनले खुलाउन चाहेनन्।

    मन्त्री अर्यालले आन्दोलनका बेला भागेका कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गरिएको र नफर्किएकालाई अब कानुनी कारबाहीमार्फत नियन्त्रणमा लिने चेतावनी दिए। उनले आन्दोलनका क्रममा खोसिएका हतियारहरू पनि तत्काल फिर्ता गर्न निर्देशन दिँदै भने, “यदि फिर्ता भएनन् भने सरकारले अपरेसन चलाउन बाध्य हुनेछ।”

    सुरक्षाको सवालमा सरकार अत्यन्त संवेदनशील रहेको मन्त्री अर्यालले स्पष्ट पारे। उनले व्यक्तिगत रूपमा कसैलाई धम्की वा असुरक्षा महसुस भएमा औपचारिक निवेदन दिन आग्रह गरे। “निवेदन प्राप्त भएलगत्तै त्यसको मूल्यांकन गरी तत्काल कदम चालिनेछ,” उनले भने।

    सरकारले देशभर शान्ति र स्थायित्व कायम गर्न सुरक्षाका सबै संयन्त्रहरूलाई सक्रिय बनाइएको उनले जोड दिए।