काठमाडौं, कात्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई पार्टी सभापति बन्न दिनु ठुलो गल्ती भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफूले युवा पुस्तालाई अघि ल्याउनुपर्ने कुरा वर्षौंअघिदेखि उठाउँदै आएको भए पनि अन्ततः पुरानै नेतृत्वलाई समर्थन गर्नु गल्ती भएको बताए।
‘मैले २०६८ सालदेखि पार्टीमा नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने भनाइ राख्दै आएको हुँ,’ थापाले भने, ‘तर १४औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिने निर्णय मेरो जीवनकै ठुलो गल्ती रह्यो।’
थापाले पार्टीभित्र वरिष्ठ नेताहरूको प्रभाव अन्त्य गर्न नसकेको स्वीकार गर्दै स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा नेतृत्वले गरेको निर्णयप्रति असन्तुष्टि जनाए। उनले २०७९ सालको स्थानीय तह निर्वाचनअघि नै केही निर्णयहरू गलत हुन सक्ने चेतावनी दिएको तर त्यसलाई बेवास्ता गरिएकाले पार्टीले ठूलो मूल्य चुकाउनु परेको बताए।
‘मैले सभापतिलाई भनेको थिएँ— केही पालिकामा गलत निर्णय भयो भने त्यसको नतिजा ठूलो मूल्य चुकाउनु पर्छ,’ उनले भने, ‘तर उहाँले त्यसबेला सबै नेताहरूको सल्लाह अनुसार निर्णय गर्नुभयो, त्यो पनि मेरो गल्ती भयो।’
थापाले २०७९ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन बनाउने निर्णय पनि असफल भएको बताए। उनले गठबन्धनको विरोध गरे पनि अन्ततः त्यसकै माध्यमबाट चुनाव लड्नु पछुतो भएको बताए।
‘मैले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउन मत दिनु हुँदैन भनेको थिएँ। कांग्रेसले एमालेसँग मिल्नु उपयुक्त हुने धारणा राखेको थिएँ,’ थापाले भने, ‘तर त्यो विरोधमा खुला रूपमा बोल्न नसक्नु अहिलेको पछुतो हो।’
उनले कांग्रेसभित्र अहिले पुरानो सोच र नेतृत्वको जकडबाट बाहिर ननिस्किएसम्म पार्टीले नयाँ सम्भावना खोज्न नसक्ने भन्दै परिवर्तनको आवश्यकता औंल्याए।
प्रतिक्रिया दिनुहोस