१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पठाओ राइडर बन्न अब अनिवार्य अनलाइन प्रशिक्षण र ८०% अंक आवश्यक



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९०
  • काठमाडौँ, मंसिर २ - राइड सेयरिङ सेवा 'पठाओ नेपाल'ले आफ्नो राइडर छनोट प्रक्रिया कडा बनाउँदै अबदेखि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य लागू गरेको छ। कम्पनीले सेवाको गुणस्तर र सुरक्षा स्तर उकास्न जारी गरिएको यो नयाँ प्रावधानले राइडर बन्न चाहनेहरूलाई विस्तृत तालिम र कडाइको मूल्यांकनबाट गुजरिनुपर्नेछ।

    पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार राइडरको दर्ता अब अझ व्यवस्थित र पारदर्शी हुनेछ। राइडरका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र तथा तेस्रो पक्ष बीमा अनिवार्य कागजातका रूपमा मागिनेछ। कागजात प्रमाणीकरण भएपछिको चरणमा एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) मार्फत अनलाइन प्रशिक्षण अनिवार्य हुनेछ।

    प्रशिक्षणपछि हुने परीक्षामा न्यूनतम ८० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ। परीक्षामा असफल भएकाहरूले भोलिपल्ट पुनः प्रशिक्षण लिएर दोबारा परीक्षा दिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

    दर्ता प्रक्रिया पनि पूर्ण रूपमा डिजिटल बनाइएको छ। इच्छुकले पठाओ ड्राइभ एप डाउनलोड गरी आवश्यक कागजात अपलोड गरेपछि २४ घण्टाभित्र कागजातको प्रमाणीकरण हुने कम्पनीको भनाइ छ। प्रमाणीकरणपछि एपबाटै प्रशिक्षण र परीक्षा दिन सकिन्छ। ८० प्रतिशत अंक हासिल गरेपछि एसएमएसमार्फत सम्झौता पत्र पठाइने र हस्ताक्षर गरेपछि मात्र आधिकारिक राइडरको रूपमा सेवा सुरु गर्न पाइनेछ।

    हमालले सुरक्षा नै पठाओ सेवाको मूल आधार भएको उल्लेख गर्दै भनिन्, “नयाँ मूल्यांकन प्रणालीले राइडरको दक्षता र जिम्मेवारीमा ठूलो सुधार ल्याउनेछ। यसबाट ग्राहकले सुरक्षित र पेशागत सेवा पाउनेछन्।”

    कम्पनीका तथ्याङ्कअनुसार हाल परीक्षामा सहभागीमध्ये करिब ८५ प्रतिशतले पहिलो प्रयासमै सफलता पाएका छन्। सक्रिय पठाओ राइडरहरूको मासिक आम्दानी औसत ४० देखि ५० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।