१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन सकिने



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १५५
  • काठमाडौँ, मंसिर १८ — काठमाडौँ महानगरपालिकाले रत्नपार्कमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने तयारी पूरा गरेको छ। शंखधर उद्यानका रूपमा चिनिँदै आएको रत्नपार्कमा नेपाल टेलिकमका राउटर जडान गरिन थालेपछि सर्वसाधारणले पार्कभित्र बसेर सहज रूपमा वाइफाइ प्रयोग गर्न पाउने भएका छन्।

    महानगरअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले हाल नेपाल टेलिकमका ६ वटा राउटरमार्फत ५०० एमबीपीएस क्षमताको इन्टरनेट जडानको काम अघि बढाइरहेको छ। “मङ्सिरभित्रै सम्पूर्ण क्षेत्र कभर हुने गरी वाइफाइ सञ्चालन हुन्छ,” शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठले बताए।

    एक समय अस्तव्यस्त क्षेत्रका रूपमा रहेको रत्नपार्कलाई महानगरले २०७२/७३ मा करिब ८० लाख लगानीमा पुनःनिर्माण गरेपछि पार्कको स्वरूप नै फेरिएको छ। हाल त्यस क्षेत्रमा घाम ताप्न आउने वृद्धवृद्धादेखि रमाइलो गर्न तथा फोटो खिच्न पुग्ने युवायुवतीको भीड बाक्लिँदै गएको छ।

    पार्क प्रवेशका लागि विद्यार्थीलाई २०, सर्वसाधारणलाई ३० र सार्क तथा अन्य विदेशी पर्यटकलाई १०० रुपैयाँ शुल्क तोकिएको छ। क्यामेरा तथा सुटिङका लागि अलग–अलग शुल्क राखिएको छ। महानगरका अनुसार रत्नपार्कबाट वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म राजस्व आर्जन हुँदै आएको छ।

    चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म मात्र ६१ हजार ५३७ जना पार्कमा प्रवेश गरेको एकाइका प्रमुख उत्तमकुमार घलेले जानकारी दिए। जसमा १२ हजार ८५० विद्यार्थी र बाँकी ४८ हजार ६८७ सर्वसाधारण रहेका छन्। यस अवधिमा पार्कले १८ लाख १४ हजारभन्दा बढी राजस्व संकलन गरेको छ।

    रत्नपार्कमा दैनिक ५ सयदेखि १ हजारसम्म मानिस घुम्न आउने गरेको र बिदा तथा शनिबारको दिन यो संख्या झन् बढ्ने गरेको महानगरले जनाएको छ। पार्कभित्र बस्नका लागि बक्स र कुर्सी, सार्वजनिक शौचालय, शंखधर र पद्मरत्न तुलाधरको सालिकलगायत संरचना रहेका छन्।

    उद्यानमा पानीको अभावका कारण बोटबिरुवा संरक्षणमा चुनौती आएको बताउँदै प्रमुख घलेले चाँडै नै पानीको फोहोरा सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए।