काठमाडौं, पुस ६ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई व्यापक बनाउने हो भने समाजमा मौलाएको भ्रष्टाचार घटाउन सकिने बताएका छन्।
विश्व ध्यान दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले मन शुद्ध नहुँदा लोभ, लालसा र घमण्ड बढ्ने र त्यसले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने धारणा राखे।
उनका अनुसार भ्रष्टाचार हटाउन औषधि सम्भव नभए पनि योग र ध्यानले व्यक्तिको मन शुद्ध बनाउने भएकाले त्यसलाई प्रभावकारी उपायका रूपमा विकास गर्न सकिन्छ। ‘मन अशुद्ध हुँदा भ्रष्ट आचरण बढ्छ, त्यसैले मन शुद्ध बनाउने अभ्यास आवश्यक छ,’ उनले भने।
मन्त्री पुनले योग र ध्यानलाई विद्यालयस्तरमै विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। उनले विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत योग र ध्यानलाई समेट्न निर्देशन दिइसकेको र शुक्रबारलाई पढाइभन्दा पनि अतिरिक्त क्रियाकलाप केन्द्रित दिनका रूपमा अघि बढाउने विषयमा छलफल भएको बताए।
योग र ध्यान सिकाउने विषयभन्दा अभ्यास गराउने प्रक्रिया भएको उल्लेख गर्दै उनले यसलाई टोल–टोल र गाउँ–गाउँसम्म पुर्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। मन्त्री पुनका अनुसार योग र ध्यानले मनलाई शान्त र सकारात्मक बनाउने भएकाले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
प्रतिक्रिया दिनुहोस