१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंसँग भेटेर प्रधानमन्त्रीले भनिन्– असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्नुस्



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३३
  • काठमाडौं, पुस १५ - प्रधानमन्त्री सुशीला कार्कीले देशमा दिगो शान्ति र लोकतन्त्र स्थापनाका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय भएको बताएकी छन्।

    मुलुक अब थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेकाले आफ्ना असन्तुष्टि र मागहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अघि सार्न उनले आग्रह गरिन्।

    मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको स्पष्ट पारिन्।

    “धेरै चुनौतीपूर्ण अवस्थाबाट देशलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “सबै प्रकारका संशय र आशंकालाई चिर्दै मुलुक अहिले पूर्ण रूपमा निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको छ। यस्तो संवेदनशील समयमा सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ।”

    प्रधानमन्त्रीले सबैलाई ‘यो देश मेरो पनि हो’ भन्ने भावनासहित जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्दै शान्ति कायम राख्न प्रसाईंलाई अनुरोध गरिन्। सो अवसरमा उनले शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर उपहारस्वरूप प्रदान गरिन्।

    भेटमा प्रधानमन्त्री कार्कीले सरकार न्याय, सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको बताउँदै भनिन्, “हामी सत्ताभोग वा व्यक्तिगत सुखका लागि यहाँ आएका होइनौँ। शोषित र पीडित वर्गलाई न्याय दिलाउने प्रक्रिया सुरु गरेका छौँ। सबै परिणाम तुरुन्तै नदेखिए पनि हामीले त्यसका लागि आधार तयार गर्दै गएका छौँ।”

    उनले प्रसाईंले उठाएका केही जायज मागहरूबारे सरकारले गृहकार्य गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप छलफल र संवादमार्फत अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।