सुर्खेत, फागुन २८ - सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीय इनिसा विकको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेपछि घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सीआईबीसँग सहयोग मागेको थियो।
प्रहरी प्रवक्ता डीएसपी मोनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा रहेको सीआईबीको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगरमा पुग्नेछ र घटनाको विस्तृत अनुसन्धान सुरु गर्नेछ। जिल्ला प्रहरी कार्यालयले अब सीआईबीसँग मिलेर प्रमाण र तथ्य संकलनमा काम गर्ने भएको छ।
पछिल्लो पोस्टमार्टम रिपोर्टले इनिसाको जबरजस्ती करणीपछि मृत्यु भएको पुष्टि गरेको छ। पीडित र आरोपित पक्षको मोबाइल र अन्य विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। टकसिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणपछि अनुसन्धान टोलीले घटनाको अन्तिम निष्कर्ष निकाल्ने तयारीमा छ।
जिल्ला प्रहरी उपरीक्षक सुधिरराज शाहीले प्रहरी टोलीसँगै पोलिग्राफ टोलीले पनि काम गरिरहेको बताए। घटनास्थलबाट संकलित सबै प्रमाण प्रयोगशालामा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण र विद्युतीय प्रमाणलाई आधार बनाएर हत्याको अन्तिम नतिजा निकालिनेछ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विकलाई फागुन २३ गते वीरेन्द्रनगर–४ शहीद पार्क नजिकको सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको थियो। घटनामा संलग्न चार जना १८ वर्षमुनिका किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले पीडित परिवारको उजुरीको आधारमा घटना अनुसन्धानमा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस