काठमाडौं, चैत १० - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्कीलाई पक्राउ गरेको छ।
उनीमाथि विदेश पठाइदिन्छु भन्दै २५० जनालाई ठगी गरेको आरोप छ। यसबारे १०० भन्दा बढी पीडितहरूले प्रहरीसमक्ष उजुरी दिएका छन्।
पक्राउ पर्ने क्रममा उनी स्वयम्भूबाट फेला परेका थिए। सिन्धुलीको सुनकोशी गाउँपालिका–७ का स्थायी बासिन्दा कार्कीविरुद्ध वैदेशिक ठगीको मुद्दामा ६ वटा पक्राउ पुर्जी जारी भएको छ। पक्राउ परेपछि उनलाई वैदेशिक रोजगार विभाग, ताहचलमा कारबाहीका लागि पठाइएको छ।
कार्कीले विगत १० वर्षदेखि चाबहिलस्थित पी एण्ड एम इनोभेशन सर्भिस नामक कन्सलटेन्सी संचालन गर्दै आएका थिए। उनी भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका थिए र त्यहाँ अन्नपूर्ण फास्टफुड सञ्चालन गरिरहेका थिए। पक्राउ क्रममा भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ।
यसअघि २५ असार २०८२ मा उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा समेत दर्ता भएको थियो। अनुसन्धान अधिकारीहरूले कार्कीविरुद्ध थप कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस