काठमाडौं, चैत २५ - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको क्रममा उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पुर्जी लिएको उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार, “अदालतले पक्राउ अनुमति दिइसकेको छ, तर दम्पती हाल विदेशमा भएकाले पक्राउ कार्यान्वयन हुन सकेको छैन।”
हाल देउवा दम्पती स्वास्थ्य उपचारको लागि १३ फागुनमा सिंगापुर पुगेका थिए र त्यसपछि हङकङतर्फ जाने समाचार सार्वजनिक भएको थियो।
यसअघि, जेनजी आन्दोलनको समयमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने बुढानीलकण्ठस्थित निवासमा आगजनी समेत भएको थियो। आगलागीमा जलेका पैसाका नोट पनि फेला परेको थियो।
सम्पत्ति शुद्धीकरण विभागले त्यसपछि देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो। हाल उक्त अनुसन्धान पत्राचारपछि सीआईबी मार्फत अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस