काठमाडौं, वैशाख १ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको प्रारम्भिक दुई सातामै मन्त्रालयको कार्यसम्पादनमा सुधार ल्याएको दाबी गरेका छन् । उनले सुशासन, नीतिगत सुधार र पूर्वाधार आयोजनालाई तीव्रता दिने दिशामा काम अघि बढाइएको बताएका छन् ।
मन्त्रालयले शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि मातहतका निकाय परिचालन गरेको छ । सुशासन ऐनअनुसार सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन एकाइ गठन गरी कर्मचारीको कार्यसम्पादन अनुगमन र सरकारी स्रोतको उपयोगको निगरानी सुरु गरिएको छ ।
जनगुनासो व्यवस्थापनतर्फ विद्युत् हटलाइन ११५१ लाई प्रभावकारी बनाइएपछि दुई सातामै ४ हजार २६९ गुनासो समाधान गरिएको जनाइएको छ । विभिन्न माध्यमबाट प्राप्त सबै गुनासोको फर्छ्योट गरिएको मन्त्रालयले जनाएको छ ।
नीतिगत सुधारका लागि ऊर्जा निर्यात तथा खपत, रुग्ण आयोजना पुनरावलोकन, पीपीए तथा अनुमतिपत्र व्यवस्थापनलगायत क्षेत्रमा विभिन्न समिति गठन गरी काम अघि बढाइएको छ । साथै नवीकरणीय ऊर्जा, विद्युत् र सिँचाइसम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्दै संसदमा पेश गर्ने तयारी भइरहेको छ ।
सामाजिक न्यायको क्षेत्रमा शहीद परिवारलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा ल्याइएको छ । थप केही परिवारलाई रोजगारी दिने प्रक्रिया अघि बढाइएको छ भने पूर्वाधार आयोजनाहरूको कामलाई तीव्र बनाउन मन्त्रालयले सक्रियता देखाएको छ ।
यससँगै अन्तर्राष्ट्रिय साझेदारीमार्फत ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने पहल, नयाँ विद्युत् नीति निर्माण, र ठूला आयोजना अघि बढाउने कामलाई प्राथमिकता दिइएको छ । मन्त्रालयले प्रसारण लाइन, सिँचाइ आयोजना तथा विपद् पूर्वतयारीका कामलाई समेत अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस