काठमाडौं, वैशाख ६ - देशभरका विश्वविद्यालयहरूले अब परीक्षाफल प्रकाशित भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराउने निर्णय गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको बैठकमा उपकुलपतिहरूले यस निर्णयमा हस्ताक्षर गरेका हुन् ।
परीक्षाफल प्रकाशन प्रक्रियालाई नियमित र अनुमानयोग्य बनाउन प्रत्येक विश्वविद्यालयले आफ्नै नतिजा पोर्टल निर्माण गर्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीलाई नतिजा जानकारी लिन सहज बनाउने विश्वास गरिएको छ ।
उच्चशिक्षाको शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउन विश्वविद्यालय अनुदान आयोगका सचिवको नेतृत्वमा समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र सुधारिएको क्यालेन्डर तयार गरी कार्यान्वयनका लागि पेश गर्नेछ ।
सेवाग्राहीका गुनासा तथा सुझावलाई तत्काल सम्बोधन गर्न बहु–च्यानल प्रणाली लागू गरिने भएको छ । अब फोन, मोबाइल एप, पोर्टल र सामाजिक सञ्जालमार्फत चौबिसै घण्टा गुनासो दर्ता गर्न सकिनेछ ।
यससँगै, विद्यार्थीहरूले आफ्ना प्रमाणपत्रहरू डिजिटल रूपमा प्राप्त गर्न सक्ने व्यवस्था पनि मिलाइने भएको छ । विश्वविद्यालयहरूले आवश्यक प्रणाली विकास गरी नागरिक एपसँग जोड्ने काम तोकिएको समयभित्र सम्पन्न गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस