काठमाडौं, वैशाख १७ - शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्र बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने दोस्रो चरणको कार्य शुक्रबारदेखि सुरु गर्ने तयारी गरेको छ।
यसअघि पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकिएको मन्त्रालयले जनाएको छ। अब दोस्रो चरणमा थप जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम अघि बढाइनेछ।
स्थानान्तरण प्रक्रियालाई प्रभावकारी बनाउन बिहीबार मन्त्रालयमा सम्बन्धित सरकारी निकायहरूको संयुक्त बैठक बसेको थियो। बैठकले आवश्यक समन्वय र तयारी पूरा भइसकेको निष्कर्ष निकालेको छ।
मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत दशरथ रंगशालामा रहेको प्राथमिक दर्ता केन्द्रमा पुर्याइनेछ। त्यहाँ सूचना संकलन, सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा डिजिटल तथ्यांक संकलनका लागि छुट्टाछुट्टै सहायता कक्ष सञ्चालन गरिनेछन्।
स्थानान्तरणका क्रममा लैजान नसकिने सरसामानको सुरक्षित भण्डारणका लागि सुरक्षा निकाय परिचालन गरिनेछ। साथै, आश्रयस्थल नभएका वा आफैं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन बसको व्यवस्था मिलाइएको छ।
यसैगरी, प्रभावित नागरिकका लागि प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ। पहिचान नभएका व्यक्तिहरूलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइने व्यवस्था गरिएको छ। पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म सहयोग उपलब्ध गराई पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।
उता, नदी किनार अतिक्रमण गरी भाडा उठाउने वा अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस