२२ जेठ २०८३ शुक्रबार | 05 Jun 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं र ललितपुरका यी क्षेत्रमा शनिबार बिहान १० देखि २ बजेसम्म बिजुली नआउने



  • अञ्जना ढकाल
  • १२ घण्टा अघि
  • पाठक संख्या ३७
  • काठमाडौं, जेठ २२ - नेपाल विद्युत् प्राधिकरणले शनिबार (जेठ २३ गते) काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

    प्राधिकरणअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले स्युचाटार सबस्टेशनको मर्मत तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा प्रभावित हुने सूचना जारी गरेको हो।

    सूचनाअनुसार स्युचाटार र टेकु सबस्टेशनबाट विद्युत् आपूर्ति हुने कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रअन्तर्गतका झण्डै ९८ स्थानमा विद्युत् कटौती हुनेछ। तीमध्ये कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० तथा पुल्चोक वितरण केन्द्रका १४ स्थान प्रभावित हुनेछन्।

    कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकी, नैकाप, बलम्बु, सतुङ्गल, छाउनी, रविभवन, कुलेश्वर, बल्खु, स्वयम्भू, इचङ्गुनारायणलगायत क्षेत्र प्रभावित हुनेछन्। त्यस्तै कीर्तिपुर वितरण केन्द्रबाट आपूर्ति हुने कीर्तिपुर, चोभार, टौदह, त्रिभुवन विश्वविद्यालय परिसर, सल्यानस्थान तथा आसपासका क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ।

    रत्नपार्क वितरण केन्द्रअन्तर्गत न्युरोड, असन, इन्द्रचोक, बसन्तपुर, सुन्धारा, थापाथली, माइतीघर, कालिमाटी, टेकु र त्रिपुरेश्वरलगायतका मुख्य व्यापारिक तथा आवासीय क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ। पुल्चोक वितरण केन्द्रबाट आपूर्ति हुने सानेपा, झम्सीखेल, पुल्चोक, कुपण्डोल, भैंसेपाटी, नख्खु चोक, बागडोल र धोबिघाट क्षेत्रका उपभोक्ताले पनि विद्युत् कटौतीको सामना गर्नुपर्नेछ।

    प्राधिकरणका अनुसार स्युचाटार सबस्टेशनमा रहेको १३२ केभी बसलाई सटडाउन गरी आवश्यक मर्मत तथा स्तरोन्नतिको काम गरिने भएकाले विद्युत् आपूर्ति रोक्न लागिएको हो। साथै, यस अवधिमा काठमाडौं उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्ने जनाइएको छ।

    मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय तालिकामा परिवर्तन हुन सक्ने उल्लेख गर्दै प्राधिकरणले निर्धारित अवधिभित्रै काम सम्पन्न गर्न प्रयास गरिने जनाएको छ।