२५ जेठ २०८३ सोमबार | 08 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुधन गुरुङविरुद्ध अभद्र व्यवहार र धम्कीको आरोप, जाहेरी दर्ता गर्न प्रहरीले मानेन



  • अञ्जना ढकाल
  • ८ घण्टा अघि
  • पाठक संख्या ३९
  • काठमाडौं, जेठ २५ - पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध अभद्र व्यवहार तथा धम्की दिएको आरोप लगाउँदै तीन युवाले प्रहरीमा जाहेरी दिन खोजेका छन्। तर, काठमाडौं प्रहरी परिसरले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

    दैलेखका अजय सोडारी, कैलालीका प्रकाश बम र काठमाडौंका लक्ष्मण पौडेलले गुरुङले प्रहरी हिरासतमै आएर गालीगलौज तथा ज्यानको धम्की दिएको आरोप लगाउँदै जाहेरी पेश गरेका थिए। उनीहरू जेठ १९ गते भारतीय दूतावास अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

    जाहेरी अनुसार हिरासतमा रहेका बेला गुरुङ उनीहरूलाई भेट्न पुगेका थिए। त्यस क्रममा उनले यस्ता गतिविधि र प्रदर्शन नगर्न चेतावनी दिँदै पुनः त्यसो गरे रास्वपाका कार्यकर्ता तथा अन्य व्यक्तिमार्फत दुःख दिने र बेपत्ता पार्नेसम्मको धम्की दिएको आरोप लगाइएको छ।

    पीडित पक्षले घटनाको प्रमाणका रूपमा प्रहरी प्रभाग लैनचौरको हिरासत क्षेत्रमा जडान गरिएको सीसीटीभी फुटेजलाई आधार बनाउन माग गरेका छन्। उनीहरूले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ११८ अनुसार कारबाहीको माग समेत गरेका छन्।

    यद्यपि प्रहरीले भने उक्त आरोपका आधारमा जाहेरी दर्ता गर्न कानुनी आधार नदेखिएको जनाएको छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले हिरासतभित्र थुनुवामाथि अभद्र व्यवहार हुने अवस्था नरहेको दाबी गर्दै केवल आरोपकै आधारमा जाहेरी दर्ता गर्न नसकिने बताएका छन्।

    प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि आफूहरूको सुरक्षाको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको अजय सोडारीले जानकारी दिए।