काठमाडौं, असार १८ - ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गर्दै अदालतमा विस्तृत बयान दिएका छन्। उनले आफू अर्की युवतीसँग प्रेम सम्बन्धमा परेपछि श्रीमतीसँगको सम्बन्ध लगातार बिग्रँदै गएको र अन्ततः आवेगमा आएर हत्या गरेको बताएका छन्।
अदालतमा दिएको बयानअनुसार थापामगर र ईश्वरीको चिनजान नेपाली सेनामा कार्यरत रहँदा भएको थियो। प्रेमपछि विवाह गरेका उनीहरूबीच पछिल्लो समय सामाजिक सञ्जाल, वैवाहिक विवाद र अर्को महिलासँगको सम्बन्धका कारण निरन्तर मनमुटाव बढ्दै गएको उनले बताएका छन्।
उनका अनुसार टिकटकमार्फत प्रतिक्षा आचार्यसँग चिनजान भएपछि प्रेम सम्बन्ध विकसित भएको थियो। उक्त सम्बन्धका कारण श्रीमतीले वैवाहिक बलात्कार र सम्बन्ध विच्छेदका मुद्दा दायर गरेपछि पारिवारिक विवाद झन् चर्किएको उनले उल्लेख गरेका छन्।
हत्या भएको दिन अदालतमा मिलापत्रको अपेक्षासहित पुगे पनि श्रीमती उपस्थित नभएको, त्यसपछि घरमा काम गर्ने युवती र छोरासँग भएको विवादले आफू थप तनावमा परेको उनले बयानमा बताएका छन्। त्यसै क्रममा घर फर्किरहेकी श्रीमतीलाई पछ्याएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गर्दै उनले कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्।
थापामगरले घटनामा अन्य कसैको संलग्नता नरहेको दाबी गर्दै वारदात आफूले एक्लैले गरेको बयान दिएका छन्। प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस