काठमाडौं, असार २५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले नयाँ आर्थिक वर्ष सुरु हुने दिनदेखि नै विकास आयोजनाको काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम पारित भइसकेकाले अब सरकारको प्राथमिकता प्रभावकारी कार्यान्वयनतर्फ हुनुपर्ने बताए।
उनले आगामी साउन १ गतेदेखि नै विकास निर्माणका आयोजनाका बोलपत्र (टेण्डर) आह्वान गर्नुपर्नेमा जोड दिए। विकासका काममा हुने ढिलाइले पुँजीगत खर्च कमजोर हुने र त्यसको असर जनतामा पर्ने उनको भनाइ थियो।
गजुरेलले स्पष्ट कार्ययोजना बनाएर आर्थिक वर्षको सुरुवातदेखि नै काम अघि बढाउन सरकारलाई सुझाव दिए। उनले विगतका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्त्यमा मात्र खर्च बढाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
उनले बैठकमा भने, “साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डर सूचनाले भरिनुपर्छ, आवश्यक परे थप पाना राखेर भए पनि सूचना प्रकाशन गर्नुपर्छ।”
सांसद गजुरेलले विगतका कमजोरी सुधार गर्दै पुँजीगत खर्च बढाउने गरी सरकार अघि बढ्नुपर्ने बताए। स्पष्ट योजना बिना काम गर्दा आर्थिक वर्षको अन्त्यमा खर्च कम हुने र सरकारमाथि जनताको विश्वास घट्ने उनको भनाइ थियो।
उनले बजेट कार्यान्वयनको सुरुवातदेखि नै प्रभावकारी व्यवस्थापन गर्न र विकास आयोजनालाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस