१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पर्याप्त प्रमाण थिएन भने विष्णु पौडेलविरुद्ध मुद्दा किन चलाइयो ? रास्वपा सांसद पन्थीको सरकारलाई प्रश्न



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, साउन ३ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व डीएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दालाई लिएर सरकारसँग गम्भीर प्रश्न उठाएका छन्। पर्याप्त प्रमाण नहुँदा पनि अनुसन्धानलाई अभियोजनसम्म पुर्‍याइएको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले यसको स्पष्ट जवाफ मागेका हुन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पन्थीले यदि अभियोजनका लागि बलियो प्रमाण थियो भने २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश किन दियो भन्ने प्रश्न गरेका छन्। उनका अनुसार अनुसन्धान र अभियोजन प्रक्रियाको विश्वसनीयतामाथि अब वस्तुनिष्ठ समीक्षा आवश्यक देखिएको छ।

    उनले आफ्नो प्रश्न कुनै व्यक्ति वा राजनीतिक दललाई लक्षित नभई राज्यका अनुसन्धान, अभियोजन र न्यायिक निकायहरूको कार्यसम्पादनसँग सम्बन्धित रहेको स्पष्ट पारे। अनुसन्धान कमजोर भएको, अभियोजन हतारमा गरिएको वा अदालतले प्रमाणको मूल्याङ्कन फरक ढंगले गरेको हो भन्ने विषयमा निष्पक्ष समीक्षा हुनुपर्ने उनको भनाइ छ।

    पन्थीले अनुसन्धान र अभियोजन प्रक्रियामा कमजोरी देखिए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठाएका छन्। राज्यका निकायबीच प्रभावकारी समन्वय र प्रमाण व्यवस्थापन हुन नसके सुशासन तथा भ्रष्टाचारविरुद्धको अभियान नै कमजोर बन्न सक्ने उनको चेतावनी छ।

    उल्लेखनीय छ, विशेष अदालतले शुक्रबार एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध लगाइएको मुद्दामा तत्काल थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।