१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुरमा हर्क साम्पाङको स्वागत कार्यक्रम विवादमा, समर्थक लखेटिएको दाबी



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ५२
  • जनकपुरधाम, साउन ५ - जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको स्वागतका लागि पुगेका नेता तथा कार्यकर्तामाथि अवरोध भएको छ। मन्दिर परिसरमा हिन्दु सम्राट सेनासँग विवादको स्थिति सिर्जना भएपछि साम्पाङ पक्षका समर्थकहरू त्यहाँबाट बाहिरिन बाध्य भएका हुन्।

    मंगलबार जानकी मन्दिर दर्शनका लागि साम्पाङ जनकपुर आउने कार्यक्रम तय भएको थियो। उनी मन्दिर पुग्नुअघि स्वागतका लागि भेला भएका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले विरोध गर्दै मन्दिर परिसरबाट हटाएको जनाइएको छ।

    हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईसम्बन्धी दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै जनकपुर प्रवेशको विरोध गरिरहेको बताइएको छ। सोही विषयलाई लिएर दुवै पक्षबीच तनावको अवस्था सिर्जना भएको हो।

    घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गाईको विषयलाई लिएर राजनीति गर्न खोजिएको आरोप लगाए। उनले जानकी मन्दिर सबै श्रद्धालुका लागि खुला हुनुपर्ने धारणा व्यक्त गर्दै घटनाप्रति असन्तुष्टि जनाएका छन्।

    यसअघि अर्को फेसबुक स्टाटसमा उनले जनकपुरमा विवाद भएको उल्लेख गर्दै गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको गुनासो पनि गरेका छन्। साथै पुराना अभिव्यक्ति र धार्मिक विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको दाबी गरेका छन्।

    साम्पाङले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई शान्त र संयमित रहन आग्रह गरेका छन्। जनकपुरधाममा मंगलबार श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम पनि तय गरिएको छ।