काठमाडौं, साउन ६ - सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउने उद्देश्यसहित उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि उक्त जानकारी दिएका हुन्।
सरकारका अनुसार समितिले आत्मदाह प्रयाससम्म पुग्नुपर्ने कारण, घटनाको सम्पूर्ण पृष्ठभूमि तथा सम्बन्धित निकायको भूमिकासमेत अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
मुगुका गणेश नेपालीले केही दिनअघि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
घटनापछि विभिन्न तहबाट निष्पक्ष छानबिनको माग उठिरहेका बेला सरकारले न्यायिक समिति गठन गर्दै सत्यतथ्य सार्वजनिक गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस