सुनसरी, साउन १३ - सुनसरी जिल्लाको इनरुवा क्षेत्रमा जारी कर्फ्यु आदेशका कारण जिल्ला अदालत सुनसरीले बुधबारका सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा स्थगित गरेको छ।
अदालत प्रशासनले जारी गरेको सूचनाअनुसार सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई प्राथमिकता दिँदै बुधबारका लागि अदालतका सबै कामकारबाही रोकिएको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिदेखि अर्को सूचना जारी नभएसम्म इनरुवा नगरपालिकासहित १० स्थानीय तहमा कर्फ्यु आदेश लागू गरेपछि अदालतले पनि नियमित सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
अदालतले बुधबारलाई 'शून्य समय' (Zero Day) का रूपमा मान्यता दिएको छ। यसअनुसार आजका लागि तोकिएका म्याद, तारेख वा अदालतमा अनिवार्य उपस्थित हुनुपर्ने सेवाग्राहीको हदम्याद तथा तारेख गुज्रिएको मानिने छैन।
अदालतले कर्फ्यु हटेपछि नियमित सेवा पूर्ववत् सञ्चालन हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस