उदयपुर, भदौ ५ - उदयपुरको डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले डिभिजन वन कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले बिहीबार कार्यालय परिसरमा निगरानी गर्ने क्रममा पौडेललाई पक्राउ गरेको बताइएको छ। सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज बनाइदिने भन्दै पौडेलले रकम मागेको र सोही क्रममा रकम लिएको आरोप छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको जानकारी आफूलाई प्राप्त भएको बताए। उनका अनुसार घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्नेछ।
अख्तियारले पक्राउपछि घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ। पौडेलमाथि लागेको आरोप अनुसन्धान तथा कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।
पौडेलको उदयपुरमा करिब १४ महिनाअघि पहिलो पदस्थापन भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस