१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँमा जेठो छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको मृत्यु



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ७९
  • दाङ, भदौ ७ - दाङको घोराहीकी एक महिलाको काठमाडौँमा आफ्नै जेठो छोराको हत्या भएको खबर सुनेपछि मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ हरिद्वारकी ३८ वर्षीया बिना कालाथोकीको आइतबार दिउँसो मृत्यु भएको हो।

    उनका २२ वर्षीय जेठा छोरा वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौँ महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा हत्या भएको थियो। फ्रान्स जाने तयारीका लागि काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका वसन्तमाथि होस्टलमै कुटपिट तथा धारिलो हतियार प्रहार भएको थियो।

    छोराको हत्या भएको खबर घरमा पुगेपछि बिना बेहोस भएर ढलेकी थिइन्। दिउँसो करिब ३ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घर पुगेको थियो।

    बिनाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। मलेसियामा रहेका उनका श्रीमान् रोमहर्श कालाथोकी सोमबार नेपाल फर्किने भएपछि त्यसपछि मात्रै अन्तिम प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। रोमहर्श रोजगारीका लागि मलेसियामा रहेका थिए।

    घरमा ११ वर्षीय कान्छा छोरा शिशिर आमासँगै बस्दै आएका थिए। आमाको मृत्यु भएपछि उनलाई हजुरबुवाको जिम्मा लगाइएको घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीले बताए। परिवारका अनुसार वसन्त रोजगारीका लागि फ्रान्स जाने तयारीमा थिए र त्यसैका लागि काठमाडौँमा बसेर आवश्यक भाषा तथा अन्य तयारी गरिरहेका थिए।

    वसन्तको हत्याको आरोपमा सोही होस्टलमा बस्ने बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव पक्राउ परेका छन्। प्रहरीले उनीहरूले वसन्तको टाउको र घाँटीमा प्रहार गरेको जनाएको छ। गम्भीर अवस्थामा उद्धार गरिएका वसन्तलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीले शेखरलाई काठमाडौँबाट र प्रमितलाई मकवानपुरबाट पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्युठानको बेलवासबाट बसाइँ सरेर घोराही आएका कालाथोकी परिवारको आर्थिक अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।